महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन क्यान्स दोस्रो बढी हुने क्यान्सरमा पर्दछ । नेपालमा कति महिलाहरु क्यान्सर पिडित छन् भन्ने यकिन तथ्याङ्क नभए पनि विभिन्न अस्पतालहरुमा उपचार गराउन आउने विरामीको संख्याले यो संख्या धेरै रहेको सजिलै अनुमान लगाउन सकिन्छ । औषधी विज्ञानमा आएको प्रगतिसँगै स्तन क्यान्सरलाई पनि उपचार गरी निको बनाउन सकिन्छ ।
स्तन क्यान्सर हुनाको कारणहरु :
स्तन क्यान्सर के कारणले हुन्छ भन्ने कुरा हालसम्म पत्ता लाग्न नसकेपनि विभिन्न कारणहरुले गर्दा स्तन क्यान्सर भइराखेको हुन सक्छ । स्तन क्यान्सरबाट पिडित महिला मध्ये अधिकांश महिलालाई के कारणले स्तन क्यान्सर भएको भन्ने कुरा थाहै हुँदैन । त्यस्ता थुप्रै कारणहरु छन् जसले स्तन क्यान्सर हुनलाई बढावा दिन्छन् भन्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ । खास गरी निम्न कारणहरुले गर्दा महिलाहरुमा स्तन क्यान्सर हुन सक्छ ।
१) केवल महिला भएको कारणले : स्तन क्यान्सर केवल महिलालाई मात्र हुन्छ । पुरुषहरुमा यो रोग हुँदै नहुने बराबर हुनसक्छ ।
२) बढ्दो उमेर : बढ्दो उमेरसँगै महिलाहरुमा स्तन क्यान्सरको सम्भावना पनि बढ्दै जान्छ ।
३) पारिवारिक कारण : स्तन क्यान्सर पारिवारिक वातावरणसँग पनि गाँसेको हुन्छ । परिवारको कसैलाई स्तन क्यान्सर छ भने अन्य व्यक्तिलाई पनि स्तन क्यासर हुने सम्भावना ज्यादा हुन्छ । त्यस्तै गरी वंशाणुगत कारणले पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।
४) विकिरणको प्रभावले : लामो समयसम्म रेडियो विकिरण युक्त ठाउँमा काम गर्ने व्यक्ति अथवा कुनै ठूलो विकिरणबाट प्रभावित व्यक्तिलाई पनि स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
५) मोटोपना : अत्यधिक मोटो व्यक्तिलाई पनि स्तन क्यान्सर हुने सम्भावना एकदम धेरै हुन्छ ।
६) १२ वर्ष भन्दा अगाडि महिनावारी सुरुवात भएको महिलामा : प्राय सबै महिलामा १२ वर्ष वा सो वरिपरि महिनावारी सुरुवात हुन्छ तर कति महिलाहरुमा सो अगावै वा १०-११ वर्षमै महिनावारी सुरुवात हुन्छ । यस्ता महिलाहरुमा पनि स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
७) ढिला गरी बच्चा जन्माउने महिलामा : वृद्ध अवस्थामा बच्चा जन्माएकी महिलामा पनि स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
८) ढिला सम्म महिनावरी भइराखेमा : प्राय सबै महिलामा निश्चित उमेर पुगेपछि महिनावारी बन्द हुनुपर्छ । तर कतिपय महिलाहरुमा ५० वर्ष भन्दा पछिसम्म पनि महिनावारी भइराख्छ भने यस्ता महिलाहरुमा स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
यी बाहेक अत्यधिक धुम्रपान वा मध्यपान गर्ने, अत्यधिक निराश अथवा डिप्रेसनमा गएका महिलाहरुमा पनि स्तन क्यान्सर हुने स्म्भावना धेरै हुन्छ ।
स्तन क्यान्सरका लक्षणहरु :
स्तन क्यान्सर भएको महिलामा निम्न लिखित लक्षनहरु देखा पर्दछ ।
१) स्तनमा गाठाँगुँठि तथा डल्लाहरु देखा पर्न थाल्नु ।
२) मुन्टाबाट रगत मिसिएको तरल पदार्थ बग्न थाल्नु ।
३) स्तनको आकार परिवर्तन हुँदै जानु ।
४) स्तनको छालामा दागहरु देखा पर्न थाल्नु ।
५) स्तनको मुन्टा भित्र तिर छिर्नु ।
६) मुन्टाबाट छालाका पत्रहरु निस्कन थाल्नु ।
७) काखिमुनि डल्ला आउनु तथा सुनिनु ।
स्तन क्यान्सर आफैले परिक्षण गर्ने विधिहरु :
कुनै पनि महिलाले आफूलाई स्तन क्यान्सर भएको छ की छैन भनेर आफैले जाँच्न सक्छिन् । निम्न विधिहरु अपनाएर स्तन क्यान्सर भए नभएको थाहा गर्न सकिन्छ ।
१) आफ्नो कपडा खोलि ऐनाको अगाडि सिधा भएर उभिनुस् र आफ्नो दुवै स्तनलाई पालैपालो निरिक्षण गर्नुस् । स्तनको आकार समान छन् या छैनन्, स्तनमा दागहरु छन् या छैनन्, स्तन्को मुन्टा भित्र तिर दबिएको छ कि छैन, स्तन रातो भएर सुनिएको छ कि छैन । यदि तपाईले माथि उल्लेखित कुनै एक या धेरै लक्षणहरु मिलेको पाउनु भयो भने तपाईलाई स्तन क्यान्सर भएको हुन सक्छ भन्ने शंका गर्नुपर्छ ।
२) अब आफ्नो हात सिधा माथि उठाउनुस् र आफ्नो काखिमा दुवै पट्टि डल्लाहरु आएका छन् या सुनिएका छन् भने तपाईले तुरुन्तै डक्टरलाई देखाउनु राम्रो हुन्छ ।
३) अब फेरि ऐना अगाडि उभिनुस् र स्तनको मुन्टालाई हेर्नुस् र समातेर निचार्नुस् । यदि पहेंलो अथवा रातो दूध जस्तो तरल पदार्थ निस्कन्छ भने तपाईले डक्टरलाई देखाउनु राम्रो हुन्छ ।
४) अब ओछ्यानमा उतानो परेर सुत्नुहोस् र दाहिने हातलाई सिरानि बनाउनुहोस् । अब देब्रे हातले देब्रे स्तन र दाहिने स्तन पालै पालो जाँच्नुहोस् । यदि दुवै स्तनमा केहि भिन्नता पाउनु हुन्छ जस्तै एउटा स्तन अर्को भन्दा बढी गिलो अथवा सुनिएको जस्तो महसुस गर्नु हुन्छ भने तपाईलाई स्तन क्यान्सर भएको हुन सक्छ । यहि प्रक्रिया फेरि दाहिने हातले दोहोर्‍याउनुहोस् । यसो गर्दा तपाईले स्तनको मुन्टा तथा काखिलाई पनि निरिक्षण गर्न सक्नु हुन्छ ।
५) नुहाउँदा पनि तपाईले आफ्नो स्तनलाई परिक्षण गर्न सक्नुहुन्छ । धेरै महिलाहरु छाला चिसो र चिप्लो भएको बेला स्तनलाई परिक्षण गर्न सजिलो मान्छन् । त्यसैले नुहाउँन लाग्दा माथि उल्लेखित विधि अवलम्बन गरी आफ्नो स्तन परिक्षण गर्न सक्नुहुन्छ ।